गुल्मीका ज्ञवालीको जीवनरक्षाका लागि बेचिए गजलका टिकट

  •  
  •  
  •  
  •  
  •  

पोखरा, ९ माघ । सिर्जनाको पनि मूल्य हुनुपर्छ भनेर पोखराबाट धेरै पहिले आवाज उठेको हो। पछिल्लो समय सिर्जनाको मूल्य हुनुपर्छ भनेर टिकट काटेर साहित्यिक रचना सुन्ने अभियानमात्रै सुरु भएको छैन रचना भने बापत पारिश्रमिक पाउन थालेका छन्। शनिबार भने पोखरामा मृर्गौला पीडितको जीवन रक्षाका लागि टिकटमा सामूहिक गजल गुञ्जिएका छन्।

गुल्मी हन्सरा–४ का मृर्गौला पीडित मनोज ज्ञवालीको जीवनरक्षाका लागि सहयोग जुटाउन उनका आफन्तले पोखराका १६ गजलकारलाई वाचनमा उभ्याएका हुन् । दुवै मृर्गौला फेल भएपछि ज्ञवालीको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। ‘भारत लगायतका क्षेत्रमा मनोजलाई उपचारका लागि पुर्‍याइयो।
nepal gajal
तर, आर्थिक अभावले उपचारमा समस्या भएपछि अहिले त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ,’ आयोजक समूहका संयोजक जनक ज्ञवालीले भने, ‘उनकै उपचारका लागि सहयोग जुटाउन पोखराका १७ प्रतिनिधि गजलकारलाई टिकट काटेर सुन्ने व्यवस्था मिलाएका हौं।’ टिकट र सहयोगदाता गरेर कार्यक्रमबाट झन्डै १ लाख रुपैयाँ जुटेको उनले जानकारी दिए।

सामूहिक गजल वाचनबाट उठेको सबै रकम मनोजको उपचारका लागि जम्मा गरिने अर्का युवा अर्जुन बरालले जानकारी दिए। अग्रज पुस्ताका प्रकट पगेनी ‘शिव’, दीपक समीप, लक्ष्मण थापा, ईश्वरमणिदेखि कान्छा गजलकार सुदर्शन पौडेलसम्मले गजलको मेहफिल जमाए।

‘साहित्य समाजसँग, जनहित र परोपकारका निम्ति गुञ्जिनु भनेको साहित्य कर्म गर्नुको गर्व हो,’ गजलकार पगेनीले भने, ‘हाम्रा गजलका शब्द र आवाजले मनोजको जीवन रक्षामा सहयोगी बन्न सकोस् भन्ने कामना।’

कार्यक्रममा मन क्षेत्री, उदीपराज ढुंगाना, कपिल शर्मा, अमृत सुवेदी, परिवर्तन, विशाल थापा, मिर्मिसा पराजुली, रविन ढकाल, अजय अनमोल, साधुराम लामिछाने लगायतले गजलको मेहफिल जमाएका थिए। गजलकारहरुले मनोजको सुस्वास्थ्यको कामना गर्दै देश, माटो, सामसामयिक र देशको अफ्ठ्यारो बाटो गजलमार्फत बोले।

२० वर्षीय मनोज पोखरा विश्वविद्यालयबाट छात्रवृति पाएर बुटवलमा बिबिए पढ्दै थिए। परिवारको कमजोर आर्थिक अवस्था र दुवै मृगौला फेल भएर स्वास्थ्य जटिल बन्दै गएपछि उनका आफन्त र साथीभाइले आर्थिक सहयोग जुटाउन सामूहिक गजल वाचन राखिएको आयोजक समूहका प्राञ्जलले जानकारी दिए। – नेपालखबरबाट

Comments

comments

Comments are closed.