अर्थगाउँघरका खबर

गाउँमै बसेर आम्दानी बढेपछि दसैं सहज

घनश्याम गौतम
आश्विन १२ । गुल्मीको इस्मा गाउँपालिका–५ रजस्थलकी ३५ वर्षे देवी खडकालाई दसैं निकै खल्लो लाग्थ्यो । आर्थिक संकटले पिरोल्थ्यो । यसपालिको दसैं भने उनका लागि सुखद बन्दै छ । ‘हरेक चाडपर्व निकै खल्लो लाग्थे,’ उनले भनिन्, ‘यसपटक खसी–बोका बिक्री गरेर झन्डै ४२ हजार आम्दानी भयो, सबै परिवार खुसीसाथ दसैं मनाउँदै छौं ।’

१० वर्षदेखि उनको गोठमा भैंसीसँगै बाख्रा पनि हुन्थे तर तिनले खासै आम्दानी दिँदैनथे । सिकर्मी काम गर्ने पति डिलबहादुरको पनि राम्रो आम्दानी थिएन । ६५ वर्षे ससुरा खिमबहादुरले परम्परागत शैलीमा पाल्दै आएका बाख्राबाट आम्दानी नभएपछि उनले सबैको सल्लाहमा दुई वर्षयता आधुनिक तरिका अपनाइन् । गैरसरकारी संस्थाको सहयोगमा उत्पीडित समुदाय उत्थान केन्द्रले गठन गरेको समुहमा आबद्ध भएदेखि नै उनको आम्दानी बढदो छ । ५ बाख्राबाट सुरु गरेकी उनले संस्थाकै सहयोगमा १७ माउ र १३ पाठापाठी गरी ३० बाख्रा पालेकी छन् । यो वर्ष मात्र बाख्रा बिक्रीबाट १ लाख १३ हजार रुपैयाँ आम्दानी गरिसकेकी छन् ।

व्यावसायिक बाख्रा पालन थालेका ग्रामीण क्षेत्रका विपन्न महिलालाई दसैं सहज बनेको छ । अध्यक्ष कृष्ण सुनारका अनुसार इस्मारजस्थलमा गठन भएका ७ मूल समूह र २३ उपसमूहमा गरी ८ सय ६ घरधुरी संलग्न छन् । ‘अहिले इश्मामा मात्र ३ हजार ५ सय २० बाख्रा छन्’, उनले भने, ‘फरक तरिकाले बाख्रा पाल्न सिकाएपछि मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी गर्ने महिला १ सय ५० भन्दा बढी छन् ।’

धुर्कोट गाउँपालिका–४ जैसीथोकका विजय पोखरेलको मकै उत्पादन गर्ने बारीमा अहिले ५ प्रकारका नयाँ घाँस छन् । बाख्रा पाल्नुअघि आवश्यक घाँस उत्पादनको तरिका तालिमबाट सिकेपछि उनले मकै छाडेर झन्डै २ रोपनी बारीमा बकाइनो, इपिलइपिल, राई खन्योलगायत रोपे । ‘बाख्रा पाल्नुअघि घाँस व्यवस्थापन महत्त्वपूर्ण रहेछ’, पत्नी अमृताले भनिन्, ‘रैथानेभन्दा प्रोटिनयुक्त घाँसले बाख्राको वृद्धि विकासमा सहयोग पुग्ने र आम्दानी बढ्ने रहेछ ।’

बकाइनो, इपिल, राई खन्यो, मलाटो, किमुलगायत घाँसमा बाख्रालाई आवश्यक प्रोटिन, कार्बोहाइड्ेरट बढी हुने भएकाले त्यसले बाख्राको तौल बढ्ने, छिटो हुर्कने र वृद्धि विकास पनि छिटो हुने भएकाले जैसीथोकका किसानले बाख्रा पालनसँगै घाँस उत्पादन पनि सुरु गरेका छन् । स्थानीय विष्णु भण्डारीका अनुसार व्यावसायिक बाख्रा पालन थालेका जैसीथोकका विपन्न महिलालाई दसैं खर्च जुटाउन सजिलो भएको छ । ‘हरेकका घरमा खसीबोका छन्,’ उनले भने, ‘दसैं लागेसँगै गाउँमा खसीबोका खोज्नेको भीड लाग्न थालेको छ ।’ विगतका वर्षभन्दा अहिले खसी–बोका सहजरूपमै पाउन थालिएको उनले बताए ।

एकीकृत ग्रामीण विकास समाजका अध्यक्ष हीरा एसीले घाँस व्यवस्थापनसँगै जैसीथोकका ५ सय ७५ किसानले अहिले २ हजार २ सय बाख्रा पालेको बताए । ‘बाख्रा पाल्न पनि सीप चाहिन्छ’, उनले भने, ‘प्रविधि, सीप र आवश्यकता मापन गरेर बाख्रा पाल्न सिकाएपछि अहिले प्रतिकिसान मासिक २५ हजार रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् ।’ परियोजनाले किसानलाई बाख्रा पाल्नु पूर्व त्यसको लगानी, उत्पादन र बिक्रीबाट हुने नाफा–नोक्सान एवं बजारका बारेमा समेत दक्ष बनाएर बाख्रा पाल्न सिकाउने भएकाले पनि किसानले पर्याप्त फाइदा लिएको कार्यक्रम संयोजक भरत भण्डारीले बताए ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।