गरिबी र डिप्रेसनले आत्महत्या

  •  
  •  
  •  
  •  
  •  

थपिँदै मानसिक रोगी
घनश्याम गौतम
कार्तिक २, २०७३- जिन्दगीबाट विरक्तिएको र आफ्नैको पनि माया नपाएपछि ७७ वर्षीय रोजन खानले असोज पहिलो साता अस्लेवा ६ रुद्रवेणीस्थित घरभित्रै झुन्डिएर आत्महत्या गरे । जहाँ पुग्यो त्यही विवाह गर्दै हिड्ने गरेका उनका ३ पत्नी छन् । स्थानीयका अनुसार घरमा नल्याए पनि बाहिर राख्ने गरेका उनका अरू पनि पत्नी रहेको बताउँछन् । बिहे गर्दै हिँड्ने तर अन्य केही नगर्ने उनी पछिल्लो समय आफैंले खाने खर्चसमेत जोहो गर्न नसकेपछि विरक्तिएका थिए ।
‘आत्महत्याको केही दिनअघि मात्र मैले सोधेको थिएँ,’ उनको घटना अनुसन्धान गरेका इप्रका रिडीका इन्स्पेक्टर केशवराज भट्टराईले भने, ‘खाने खर्चको समस्या भएको गुनासो थियो ।’ अन्य आम्दानी पनि केही नहुने र धेरै बिहे गरेकै कारण परिवारले समेत दैनिक खानपिन र हेरचाह नगरेपछि जिन्दगी बेकार छ भन्दै हिँड्ने गरेका थिए । उनको आम्दानी सरकारले दिने मासिक २ हजार सामाजिक सुरक्षा भत्ता मात्र थियो । उनका छोरा उजुर खानले बाबुले पछिल्लोपटक दलित महिलासँग बिहे गरेकाले बाहिरै बस्ने गरेको बताए ।
हस्तिचौर ७ का ९३ वर्षीय पुनाराम सारूले २ वर्षअघि घरमै झुन्डिएर आत्महत्या गरे । उमेरले केही गर्न नसक्ने अवस्थाका उनको आत्महत्याको कारण परिवारको कचकच र आर्थिक समस्या रहेको प्रहरी अनुसन्धानमा देखिएको छ । घरमा छोराबुहारीसँगै बस्दै आए पनि छोरा बिदेसिएपछि बुहारीको व्यवहार सहन नसकेरै र दैनिक चुरोट खाने पैसा अभाव भएपछि उनी विरक्तिएर मृत्यु रोजेको देखिन्छ ।
३ वर्षअघि शान्तिपुरमा ९ वर्षीय बालिकाले झुन्डिएर आत्महत्या गरिन् । मामाघर बस्दै आएकी बालिकाले परीक्षामा नतिजा राम्रो नआएको आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकाल्यो । ३ कक्षामा अध्ययनरत उनी परीक्षा दिएर आएको केही समयमै झुन्डिकी थिइन् । यी केही उदाहरण हुन् । प्रहरीले दिएको तथ्यांक हेर्ने हो भने जिल्लामा प्रत्येक वर्ष आत्महत्या बढदो छ । उमेर समूहमा ९ वर्षीयादेखि ९३ वर्षसम्मकाले जिन्दगीबाट विरक्तिएर आत्महत्या रोज्ने गरेका छन् ।
लामो समयदेखि प्रहरीको मुद्दा शाखामा कार्यरत असई सत्यनारायण यादवका अनुसार धेरैले गरिबी र डिप्रेसनका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन् । ‘त्योबाहेक अधिक मानसिक तनाव, पारिवारिक बेमेल, अल्पज्ञान, अहंकारिता, तामसी भोजन, लागूपदार्थको सेवनलगायत थुप्रै कारण छन्,’ उनले भने, ‘पछिल्लो समय वैदेशिक रोजगारीले पारिवारमा बिखण्डन ल्याउने र त्यसकै कारण आत्महत्यामा अग्रसर हुनेको संख्या पनि बढदो छ ।’ त्यसको न्यूनीकरणका लागि परामर्श तथा सामाजिक सचेतना, साधना तथा सकारात्मक सोचको विकासका कार्यक्रमहरू विपन्नस्तरसम्म पुर्‍याउनु जरुरी रहेको डीएसपी महेन्द्र नेपालले बताए । ‘तर त्यस्तो कसैले गरेको देखिँदैन,’ उनले भने, ‘विद्यालयस्तरसम्म प्रहरीले कहिलेकाहीं गर्ने गरेको छ ।’
प्रहरीका अनुसार आव ०७१/७२ मा ५० जनाले आत्महत्या गरेका छन् । ०७२/७३ मा बढेर ६७ पुगेको छ । यो वर्ष साउनदेखि असोजसम्म ८ जनाले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेको उमेर समूहअनुसार हेर्ने हो भने १७ देखि ५० वर्ष उमेर समूहका धेरै छन् ।
जिल्लामा घरेलु हिंसा र पति बिदेसिएकै कारण पछिल्ला वर्षमा मानसिक रोगीको संख्यासमेत बढेको छ । सामान्य मानसिक रोग बढदै गएर ठूलो रूप लिने र डिप्रेसनमा पुगेपछि तत्काल निर्णय लिन नसक्ने व्यक्तिले आत्महत्याको बाटो रोज्ने जिल्ला अस्पतालका डाक्टर यदुनाथ बरालले बताए । उनका अनुसार अस्पतालमा दैनिक आउने सयमध्ये २० देखि २५ बिरामी मानसिक रोगी हुने गरेका छन् । ‘यो दर जिल्लामा अत्यधिक हो,’ उनले भने, ‘मानसिक रोग बढदै गएपछि डिप्रेसन भएर आत्महत्यासम्म पुग्छ ।’

Comments

comments

Comments are closed.