कृषि पेसामा गुल्मेली युवा पुस्ताको मोह, पासपोर्ट च्यातेर खेतिपातीमा, वार्षिक १५ लाख रुपैँया आम्दानी

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, ८ फागुन ।
विदेशको रोजगारी त्यागेर गुल्मीका युवाले सुरु गरेको कृषि व्यवसाय उदाहरणीय

स्वदेशमा केही छैन वा केही गर्न सकिएन भन्दै विदेशमा रोजगारीका लागि जाने युवाको संख्या पछिल्लो समय बढ्दै गएको छ । युवा पलायनका कारण उत्पादनशील भूमि बाँझिँदा कृषिमा परनिर्भरता बढेको छ भने गाउँघर रित्तिएका छन् ।

यति मात्र होइन, युवाशक्ति पलायनले ‘जन्ती र मलामी’ नपाइने दुःखद अवस्था मुलुकभरका प्रायः गाउँघरले भोगिरहेका छन् ।तर, पछिल्लो समय गुल्मीका केही युवाले गरेको कृषिजन्य व्यवसायप्रतिको लगाबका कारण विदेश जानैपर्ने बाध्यता उनीहरूले हटाइदिएर उदाहरणीय बनेका छन् ।

कोरिया छाडेर फर्किएका युवा गाउँमै वार्षिक १२ लाख कमाउँछन्
स्वदेशमा काम पाइएन भन्दै वैदेशिक रोजगारीमा जाने युवा संख्या दिनहुँ थपिँदै गए पनि कोरियाको जागिर छाडेर नेपाल फर्किएका गुल्मी दिगामका रविलाल पन्थले अहिले व्यावसायिक रूपमा कृषि पेसा अपनाई आम्दानी लिन थालिसकेका छन् । कोरियामा मासिक दुई लाखसम्म आम्दानी हुने गरे पनि स्वदेशमै केही गर्ने लक्ष्य लिएर कृषि पेसामा लागेको उनी बताउँछन् ।
agriculture news nepal
पाँचवर्षे भिसा पूरा भएपछि पन्थ नेपाल आए । कोरियाबाट फर्किएपछि उनले वैदेशिक रोजगारीलाई पूर्णविराम लगाउने निधो गरी कृषि पेसा अँगाल्दै आएका छन् । विदेशको मिहिनेत र परिश्रममा पैसा फलेको देखेपछि स्वदेशमै केही गर्ने हिम्मत लिएर कृषिमा लागेको बताउँछन् ।

कोरियामा मासिक २ लाख पाउने जागिर त्यागेर नेपाल फर्किएका पन्थले दुग्ध व्यवसाय सञ्चालन गर्न थाले । अहिले उनी जिल्लाका दुग्ध व्यवसायीमध्येमा परिसकेका छन् ।

१० लाखमा दुग्ध डेरी फार्म
उनले अहिले रिडी बजारमा करिब १० लाख लागतमा गौरव दुग्ध डेरी सञ्चालनमा ल्याएका छन् । ०७१ असारमा कोरियाबाट घर आएका पन्थले ६ महिनापछि डेरी खोलेका थिए । सुरुमा १५–२० लिटर दूध संकलनबाट डेरी सञ्चालन गरेका पन्थको डेरीमा अहिले दैनिक ३ सय ५० लिटर दूध संकलन हुने गरेको छ । उनले दही, पनिर, छुर्पी, घिउ, कुराउनी बनाएर सदरमुकाम तथा जिल्लाकै विभिन्न बजारमा बेच्ने गरेका छन् ।

‘पाँच वर्षसम्म कोरियामा मजदुरी गरियो,’ ‘पन्थले भने, ‘त्यति मिहिनेत गर्ने हो भने गाउँमै राम्रो हुन्छ भन्ने भावना आएपछि व्यवसाय सुरु गरे ।’ अहिले मासिक ८० हजारदेखि एक लाखसम्म आम्दानी लिन थालेको उनी बताउँछन् ।

नयाँ घरको संयोजनमा एकीकृत ग्रामीण विकास समाज गुल्मीले सञ्चालन गरेको उत्कृष्ट उद्यमीको खोजी अभियान–२०१५ को उत्कृष्ट दशमध्येका हुन् । जिल्लाका उत्कृष्ट युवा व्यवसायी पन्थलाई जिल्ला कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र अन्य संघसंस्थाले पनि प्रोत्साहित गरेका छन् ।

किसानका लागि उन्नत बिउबिजन कार्यक्रमले यो वर्ष उनलाई १० लाख रुपैयाँ अनुदान दिने भएको छ । केही समयमै आइसक्रिम उद्योग सञ्चालन गर्ने तयारीमा रहेका पन्थले वैदेशिक रोजगारीमा जाने रकम स्वदेशकै कृषि तथा पशुपालनमा लगानी गर्न सके विदेशको कमाइ गाउँघरमै हुने दाबी गरे ।

युरोपको सपना त्यागेर उद्यमी
गुल्मीको रेसुंगा नगरपालिका कुँडापानीका शम्भु पाण्डे १३ वर्षे विदेशको अनुभव सँगालेर ०७२ भदौमा स्वदेश फर्किएका थिए । उनले दुबईमा मासिक ८० हजार कमाउँथे । ‘त्यहाँ काम गरे पैसा कमाउन समस्या थिएन,’ उनले भने, ‘मासिक ८० हजार कमाउँथे । पछि युरोप जाने योजना बोकेर स्वदेश फर्किएँ । तर, पछि नेपालमै केही गर्ने सोच बनाएर कृषि पेसामा लागेको हुँ ।’

उनी अहिले जिल्लाकै उत्कृष्ट दुग्ध व्यवसायीमा गनिन्छन् । ‘युरोपको सपना बोकेर घर फर्किएको हुँ, उनले भने, ‘अब घर नै युरोप बनाउने सोच छ ।’अहिले उनले जर्सी, स्विस जर्सी र होलिस्ट्यान जातका २० वटा गाई पालेका छन् । घरबाटै दूध बेचेर वार्षिक ७ लाखभन्दा बढी आम्दानी लिन थालेको पाण्डे बताउँछन् ।

उनले भने, ‘एउटा गाईले दैनिक १८ देखि २० लिटर दूध दिन्छ । २० वटा गाईबाट दैनिक सरदर सय लिटरभन्दा बढी दूध तम्घास बजारमा लगेर बेच्ने गर्छु ।’ उनले दुबईबाट फर्केपछि ०७० चैतदेखि ६० लाख लगानीमा गाईपालन सुरु गरेका थिए ।

व्यावसायिक रूपमा पशुपालन र कृषि पेसा अपनाउन सके नेपाली युवा विदेश जानैनपर्ने उनको सुझाब छ । ‘विदेशमा पैसा छ, तर आत्मीयता छैन, पाण्डेयले भने, ‘विदेशजत्तिकै मिहिनेत गरे नेपालमै सबैथोक पाउन सकिने रहेछ ।’

व्यवसायलाई पाण्डेले सिद्धबाबा गौशाला तथा कृषि उद्योगका रूपमा दर्ता गरेका छन् । रूपाकोटका तारानाथ पाण्डेय र भाइ युवराज पाण्डेयले व्यवसायमा थप मद्दत पुर्या‍एको उनले बताए । उनी नयाँघर र एकीकृत ग्रामीण विकास समाजले सञ्चालन गरेको उद्यमीको खोजी अभियानमा पनि उत्कृष्ट भएका थिए । पाण्डेले ०७२ को उत्कृष्ट राष्ट्रपति कृषि पुरस्कार पनि पाइसकेका छन् ।

युवाशक्ति रोक्ने प्रयास भइरहेको छ : कृषि कार्यालय

जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रणबहादुर महतोले पछिल्लो समय जिल्लाका थुप्रै युवाले उदाहरणीय कृषि व्यवसाय सञ्चालन गरेको जानकारी दिए ।

व्यावसायिक मौरीपालन गर्ने १३, तरकारी खेती गर्ने ६६, माछापालन गर्ने ६, च्याउखेती गर्ने तीन, सुन्तलाखेती गर्ने ३३ र व्यावसायिक कफीखेतीमा लागेका तीन गरी एक सय २४ जना व्यावसायिक युवा रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा दसवर्षे कृषि रणनीतिक योजना, युवालक्षित अनुदान, किसानका लागि उन्नत बिउबिजन कार्यक्रम, किसान परियोजना, बाख्रा विकास परियोजनामार्फत पनि कृषि व्यवसायमा युवा आकर्षित भएको अधिकृत महतोले बताए ।

पासपोर्ट च्यातेर कृषिमा लागे युवा
गुल्मीको रेसुंगा नगरपालिका सिमीचौरका युवा विनोद कुँवर जिल्लाका अगुवा कृषक हुन् । गत वर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका कुँवरले गाउँघरमा केही छैन र केही गर्न सकिन्न भन्ने भावना उनलाई पनि नपलाएको होइन ।

विदेश जाने मनसायका साथ पासपोर्ट बनाएका कुँवरको भावना एकाएक परिवर्तन भयो । कुँवर ०७० मा कतार जान काठमाडौंसम्म पुगे । ‘टिकटसम्म काटेको थिएँ,’ उनले भने, ‘कम्पनीले सम्झैताबमोजिम तलब नदिने पत्तो पाएपछि एयरपोर्टमै पासपोर्ट च्यातेर घर फर्किएर कृषि व्यवसायमा लागेँ ।’

विदेश जान छुट्याएको पेसाले नै उनलाई अहिले जिल्लामा अगुवा कृषकको उपमा दिलाएको छ । विशेष गरी तरकारी कृषकका रूपमा परिचय बनाएका कुँवरले वार्षिक १५ लाखको कारोबार घरबाटै गर्छन् ।

अहिले उनले ३२ रोपनीमा गोभी, खुर्सानी, साग, आलु, काँक्रो, टमाटरलगायत खेती गरिरहेका छन् । उत्पादित तरकारी जिल्ला कारागार, जिल्ला प्रहरी कार्यालय, रिडर्स पब्लिक हाइस्कुल र सदरमुकामका विभिन्न स्थानमा बिक्री गर्दै आएको उनले बताए ।

वार्षिक रूपमा साढे २ लाखको तरकारी बिरुवा बिक्री गर्दै आएको कुँवरको भनाइ छ । हाल उनको कृषि फार्ममा चार महिला र दुई पुरुष गरी ६ जनाले रोजगारी पाएका छन् । तरकारी खेतीबाटै ६ जनाको परिवार राम्रोसँग चलाएर महिनाको ५० हजार रुपैयाँ बचत गर्दै आएको उनको भनाइ छ । – नयाँ पत्रीकाबाट

Comments

comments

Comments are closed.