करिडोरले गाउँ सुगम

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी, माघ २८ । अर्बेनी ७ का ७२ वर्षीय भीमलाल न्यौपानेलाई अहिले सदरमुकाम तम्घास आउन स्याङ्जा र पाल्पा हुँदै घुम्नुपर्ने बाध्यता हटेको छ । योसँगै उनको यात्रा पनि ४ घण्टा छोटिएको छ । स्याङ्जा–पाल्पा हुँदै एक दिन लगाएर सदरमुकाम पुग्ने उनलाई आफ्नै पालामा घर अघिबाटै मोटर चढेर तम्घास गइएला भन्ने लागेको पनि थिएन । ‘भीरको बाटो पैदल हिँडेर तम्घास पुगिन्थ्यो,’ उनले भने, ‘अहिले त सपना जस्तो लागेको छ ।’

सदरमुकाम तम्घासबाट झन्डै ८० किमि पूर्व रहेका हर्मिचौर, अर्बेनी, जयखानी, पूर्तिघाट र खड्गकोटसहित एक दर्जन गाविसलाई भारत, नेपाल र चीन जोड्ने सरकारको राष्ट्रिय गौरवको आयोजनाले दुर्गमबाट सुगमसँग जोड्दै छ । उत्तर–दक्षिण कालीगण्डकी करिडोरको रिडीदेखि गुल्मी खण्डको पूर्तिघाट ट्रयाक खुलेपछि यस क्षेत्रका गुल्मी, स्याङ्जा, पर्वत र बागलुङलाई सडक सञ्जालले जोडेपछि सुगमतासँगै यहाँका सर्वसाधारणको दैनिकी पनि फेरिएको छ ।
Kaligandaki-Koridor-10022017082705-1000x0
करिडोरको गुल्मी खण्डको ४३ किमिमा ट्रयाक खोलेपछि सवारी चल्न थालेका छन् । नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईका अनुसार रिडीदेखि बागलुङको सिमाना खड्गकोटको बरल्वासम्मको ४३ किमि खण्डमा साना–ठूला सबै सवारी चल्न थालेका छन् । ‘३४ वर्षदेखि खोल्ने प्रयास भएर पनि नखुलेको ट्रयाक हामीले ३ वर्षमै खोलेका छौं,’ सेनानी भट्टराईले भने, ‘हामीले निर्माण गरेको ४३ किमि सडकको लागत झन्डै ४५ करोड रुपैयाँ छ ।’ स्थानीयले २०३९ सालदेखि सडक खन्ने प्रयास गरेका थिए । २०५७ सालमा एमाले नेता प्रदीप ज्ञवालीले हर्मिचौरमा शिलान्यास गरेपछि सडक सरकारको नजरमा परेको थियो ।

गुल्मी खण्डको ट्रयाक खोल्ने काम सकेर अहिले सेनाले बागलुङको छिस्तीदेखि टुटुंगासम्मको २६ किमि खण्डमा काम गरिरहेको छ । टुटुंगादेखि बागलुङको बलेवा एयरपोर्ट हुँदै मालढुंगासम्मको १४ किमि ट्रयाक यसअघि नै खोलिएको उनले बताए । ‘अब २६ किलोमिटरमा ट्रयाक खुलेपछि गुल्मीको रिडीदेखि मुस्ताङसम्म सजिलै पुग्न सकिन्छ,’ उनले भने ।

भारतको सुनौलीदेखि चीनको सिमाना कोरला नाकासम्मका २ सय ३१ गाविस जोड्ने उत्तर–दक्षिण कालीगण्डकी करिडोर ४ सय ३५ किमि लामो छ । सरकारले तेस्रो राष्ट्रिय प्राथमिकताको आयोजनामा राखेर २० वर्षभित्र सम्पन्न गर्ने गरी गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुग्ने गरी १४ वर्षअघि २०५९ सालदेखि निर्माण सुरु गरेको थियो ।

‘२० वर्षे सडक नीतिअन्तर्गत गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुग्ने गरी सडकको अवधारणा तयार गरिएको हो,’ करिडोर सरोकार समितिका प्रवक्ता खड्गकोटका टीकाराम ढकालले भने, ‘सरकारले नेपाली सेनालाई निर्माणको जिम्मा दिएको क्षेत्रमा तीव्र गतिमा काम भए पनि पाल्पा खण्ड बाँकी रहेकाले करिडोर पूर्ण हुन सकेको छैन ।’ राष्ट्रिय प्राथमिकताको सडक भएकाले आफूहरूले छिटो निर्माण सम्पन्न गर्नका लागि दबाब दिइरहेको र केही महिनाभित्रै करिडोर चीनको नाका कोरलासम्म पुग्ने उनले बताए ।

६ जिल्लाका दुर्गम क्षेत्रमा यातायातको पहुँच पुर्‍याउँदै यसले दुई ठूला छिमेकी देश चीनको हिमालदेखि पहाड र तराई हुँदै भारतसम्म व्यापार विस्तार गर्ने सकिने भएकाले ट्रयाक खोल्ने काम पनि तीव्र गतिमा भइरहेको उत्तर–दक्षिण कालीगण्डकी लोकमार्ग आयोजना कार्यालय पाल्पाका इन्जिनियर रामप्रसाद सुवेदीले बताए । उनका अनुसार नवलपरासीको गौंडाकोटदेखि पाल्पाको राम्दी पीपलडाँडासम्मको १ सय ३० किलोमिटर खण्डमा ट्रयाक खुलिसकेको छ ।

नवलपरासीदेखि बागलुङको मालढुंगासम्म सडकको लम्बाइ २ सय ४५ किलोमिटर छ । मालढुंगादेखि मुस्ताङसम्म १ सय ९० किलोमिटर सडकको ट्रयाक खुलिसकेकाले सरकारले सडक स्तरोन्नतिका लागि मालढुंगामा सडक आयोजना कार्यालय स्थापनाको तयारी गरिरहेको सुवेदीले बताए ।

Comments

comments

Comments are closed.