कफी अनुसन्धान प्रभावहीन

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी, फाल्गुन २० । कृषि विज्ञ नहुँदा तीन वर्षअघि बलेटक्सार–१ भण्डारीडाँडामा खुलेको नेपालकै पहिलो कफी अनुसन्धान कार्यक्रम प्रभावहीन हुन पुगेको छ । कफीमा सेतो गवारोको समस्यासहित रोग नियन्त्रणको उद्देश्यले सञ्चालित कार्यक्रममा झन्डै ८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

कार्यक्रमले अनुसन्धानका लागि २९ जातका कफीको बोट विकास गरेको छ । सेतो गवारो नियन्त्रण नहुँदा निराश बनेका जिल्लाका १८ सयभन्दा बढी किसान कार्यक्रम आएपछि उत्साहित थिए । १० जातका बीउबाट सुरु गरिएको अनुसन्धान २९ जातसम्म पुर्‍याइएको केन्द्रका वरिष्ठ वैज्ञानिक कृष्णबहादुर थापाले बताए । माउबोट, त्यसका हाँगा, बीउअनुसारको माटो, बिरुवा, उत्पादन र गुणस्तरसम्मको अनुसन्धानका लागि २ बागवानी विज्ञ, एक कीटविज्ञ र एक माटो विज्ञसहित ६ वैज्ञानिक र अन्य ८ कर्मचारी आवश्यक रहे पनि अहिले थापाबाहेक अन्य विज्ञ छैनन् ।
Coffee-Tipdai-Kisan
‘अहिले हामी बोट, फल, बीउ, माटो, बिरुवा, उत्पादनदेखि गुणस्तरसम्मको परीक्षणमा केन्द्रित छौं’, उनले भने, ‘तर, विज्ञ अभावले काम प्रभावकारी हुन सकेको छैन ।’ कार्यक्रमको १ सय रोपनी जग्गामध्ये ५० रोपनीमा कफीका २८ हजार बिरुवा परीक्षणका रूपमा उत्पादन भइरहेका छन् । बाँकी जग्गामा नर्सरीका लागि प्लटिङ र सिँचाइ व्यवस्थापनको काम भइरहेको छ । किसानका नर्सरीमा रोपेका बिरुवाले ४ वर्षमै फल दिने भए पनि अनुसन्धान कार्यक्रमपछि नयाँ बिरुवाले २ वर्षमै उत्पादन दिन थालेका छन् ।

‘अहिलेसम्म बालुवामा हुर्काइएको र तोरीको पिनालाई मलका रूपमा प्रयोग गरिएको बिरुवा उत्पादनका लागि प्रभावकारी देखिएको छ’, उनले भने, ‘बिरुवाका लागि सुरुमा खर वा परालको छाप्रो, त्यसपछि रूखको छहारी पनि राम्रो देखियो ।’

अनुसन्धानबाट कफी बोटका लागि तोरीको पिनासँगै कुखुरा, गँड्यौला, बाख्रा र गाईभैंसीको मल प्रभावकारी देखिएको छ । प्रतिबोट तोरीको पिना २, कुखुराको मल साढे २, गँड्यौली मल ३, बाख्राको मल ४ र गाईभैंसीको मल ५ किलो आवश्यक पर्छ । सबै प्रक्रिया पूरा गरेर छानो र छहारीसहित हुर्केका बिरुवाले २ वर्षमै उत्पादन दिन थालेको कार्यक्रमले जनाएको छ ।

जिल्लाभर लामो समयदेखि नियन्त्रणमा आउन नसकेको सेतो गवारोले किसानका कफीको बोट ५० प्रतिशतभन्दा बढी नष्ट गरिसकेको छ । गवारोबाट मरेका बिरुवा डढाएर त्यसका स्थानमा कार्यक्रमको प्रविधिमा उत्पादित नयाँ बिरुवा रोप्नेबाहेकको विकल्प नभएको विज्ञ बताउँछन् । कार्यक्रमले किसानलाई नयाँ प्रविधिका बिरुवा उत्पादनमा लाग्न आग्रह गरेको छ ।

३५ वर्षअघि ५० पैसामा एक बोट कफी रोपेका बलेटक्सार–१ सिन्दुरेका भोजबहादुर रेस्मीले अनुसन्धान कार्यक्रमले बीउ, बिरुवाका लागि नर्सरी व्यवस्थापनमा सहयोग गरे पनि विज्ञ अभावले उत्पादन प्रभावकारी हुन नसकेको बताए । ‘३५ वर्षअघिदेखि सुरु गरेको हुँ,’ उनले भने, ‘नजिकै अनुसन्धान कार्यक्रम आए पनि प्राविधिक नआउँदा हाम्रा बारीसम्मै पुगेर सहयोग हुन सकेन ।’ उनको बगैंचामा अहिले पनि ६ सय बोट छन् । कफी बिक्रीबाटै वार्षिक २ लाख आम्दानी गर्दै आएको रेस्मीले बताए । ‘विज्ञ र प्राविधिक पूर्ण नभएसम्म कार्यक्रम प्रभावकारी हुनै सक्दैन’, एक्ला वैज्ञानिक थापाले भने, ‘जनशक्ति थप नगरे किसानलाई पनि केही दिन सकिँदैन ।’

Comments

comments

Comments are closed.