एक ठाउँमा आइपुगे कांग्रेस–एमालेका नेता

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरू पाँच नम्बर प्रदेशलाई टुक्र्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा कुनै पनि हालतमा सहमति गर्न नसकिने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग शनिबार बिहान कुरागर्दै नेताहरूले प्रधानमन्त्री दाहालले पाँच नम्बर प्रदेशका अर्घाखाँची, गुल्मी र पाल्पा जिल्लालाई चार नम्बर प्रदेशमा मिसाउने वा आठौ प्रदेश निर्माण गर्ने विषयमा कांग्रेस–एमालेका सांसदहरूले विरोध गरेका हुन् । उनीहरूले अहिले मिलेर बसेका जनतालाई फेरि विभाजन गर्न खोजिएको आरोप लगाए ।
एमालेका नेता तथा सांसद विष्णु पौडेलले सीमाङ्कन हेरफेरका नाममा पाँच नम्बर प्रदेश विभाजन गर्न नपाइने बताउनुभयो । ‘एमाले पाँच नम्बर प्रदेशको सीमाना हेरफेर गर्ने पक्षमा छैन’, उहाँले भन्नुभयो । ठूला नेताले मात्रै चाहँदैमा सीमाङ्कन हेरफेर नहुने बताउनुभएका पौडेलले भन्नुभयो, ‘अर्घाखाँची, पाल्पा र गुल्मीका जनता पाँच नम्बरमा मिलेर बस्न चाहन्छन् ।’
कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीले सीमाङ्कनमा समस्या पाँच नम्बर प्रदेशमा नरहेको बताउनुभयो । ‘झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमा समस्या छ’, उहाँले भन्नुभयो, ‘समस्या एकातिर छ, अर्कोतिर प्रदेश टुक्र्याउने कुरा मान्य हुँदैन ।’
‘ठूला नेताले भन्दैमा हामी पाँच नम्बर प्रदेशका जिल्लाहरू चार नम्वर प्रदेशमा जान सकिँदैन’, भण्डारीले भन्नुभयो, ‘प्रधानमन्त्रीका अनावश्यक कुरामा हाम्रो समर्थन छैन ।’

Comments

comments

Comments are closed.