उद्योग बन्दै गुल्मी कारागार, वार्षिक २७ लाखको कारोबार

  •  
  •  
  •  
  •  
  •  

गुल्मी कारागारका कैदीबन्दीले हस्तकलाका सामान बनाएर वार्षिक २७ लाखको कारोबार गरेका छन्। सीपमूलक कामको व्यस्तताले आम्दानीसँगै उनीहरूलाई मानसिक चिन्तामुक्तिको बाटो मात्रै खुलेको छैन, छुटेपछि समाजमा पुन:स्थापना पनि सहज हुने देखिएको छ।

घनश्याम गौतम
गुल्मी, माघ २४ । करणीको मुद्दामा ८ वर्षअघि जेल चलान हुँदा हाडहाडे ४ का वासु खत्री निकै दिन निरास देखिन्थे। उनै खत्री यतिबेला खुसी र उत्साहित भेटिन्छन्। उनको मनोभावना उद्यमले फेरेको हो।

Karagar-Mudha-in-Gulm-06022017100847-1000x0
खुकुरी लिएर बाँसका कप्टेरालाई सुइरा बनाउन खुर्किन्छन्। ती सुइरामा प्लास्टिकको धागो र साइकलका पुराना टायर पनि उपयोग गरी जब मुडा बुन्न थाल्छन्, उनलाई दिन बितेको पत्तै हुँदैन। उनीजस्तैले आफ्ना सीप उपयोग गरेका मुडा ‘कारागारका मुडा’ भनेर बजारमा परिचित छन्। उद्यमले कैदीबन्दीलाई व्यस्त बनाउनुका साथै बिक्रीबाट आम्दानी पनि भएको छ। योसँगै उनीहरूको मानसिक परिवर्तन पनि भएको छ।

‘जो आए पनि मुडा सोधेपछि कारागारका हुन् कि होइनन् सोध्छन्,’ तम्घासका किराना व्यवसायी प्रकाश सारूले भने, ‘कारागारकै भनेपछि खुसीले किन्छन्।’ कारागारका मुडाले जिल्लाभर ख्याति कमाएको उनले बताए। कञ्चनपुरबाट अड्डासार गरी गुल्मी कारागार ल्याइएका कैदी उत्तम राना मुडा बेचेर मासिक ७ हजार आम्दानी गर्छन्। ‘भेट्न आउँदा परिवारलाई खाली हात र निरास बनाएर फर्काउनु परेको छैन,’ उनले भने, ‘कामले दाम मात्रै दिएको छैन, व्यस्त हुँदा दिमागले नानाथरि कुरा सोच्ने फुर्सद नपाउने रहेछ। राम्रो निद्रा पर्छ।’ हाडहाडेकै वासु चन्द पनि कारागारका राम्रो ढाका बुन्ने कैदीमा पर्छन्। उनलाई कैद सजाय भुक्तानसँगै ढाका र टोपी बुनाइ जीवन बदल्ने राम्रो सीप भएको छ। उनले दुई दिनमा ढाकाको एउटा पछयौरा तयार गर्छन्।
जेल पर्नु अघिसम ढाका र मुडा बुनाइका सीप थिएन। उनी अहिले धागोबाट ढाकाका सल र टोपी बनाउन अब्बल मानिन्छन्। त्यस्तै बाँसका सामग्री बनाउने सीपसमेत उनले जेलमै सिक्दैछन्। ‘कारागार आउँदा मसँग जीवन जिउने कुनै सीप थिएन,’ उनले भने, ‘जेल आएपछि बाँकी जीवन बदल्न सीपले सोचमा परिवर्तन गराएको छ।’
कारागारभित्र वासु खत्रीको समूहले बाँसका सामग्री मुडासहित किताब–जुत्ता राख्ने र्‍याक, फोटो फ्रेम र ट्रेलगायत सामग्री बनाउँछन् भने चन्दको समूहले धागोबाट ढाका, टोपी, गलबन्दी। यस्तै नेटाका नारायण मरासिनीको समूहले कागारार परिसरकै खाली जग्गामा बिरुवा र तरकारी उत्पादन गर्दै आएको छ। ‘हामीले प्याज, गोभी, साग, बन्दा, काँक्रा, करेला उब्जाउँछौं,’ उनले भने, ‘अहिलेसम्म बिरुवा पुग्यो भन्ने गराउन सकिएको छैन। सधैं कमी हुन्छ।’ कारागारमा उत्पादित बेर्ना खोज्दै बागलुङको पश्चिमी र अर्घाखाँची पूर्वी क्षेत्रबाट समेत किसान आउने गरेको मरासिनीले बताए।
तम्घास कारागार कैदीबन्दीका लागि सजाय भुक्तानको सास्ती भएको ठाउँको साटो सीप विकास केन्द्रजस्तै बन्न थालेको छ। कारागार प्रशासनले कैदीबन्दीलाई कैद भुक्तानको समयमा सीपयुक्त बनाउने गरी २०६० देखि सीप सिकाउन थालेको थियो। कारागार प्रमुख गोपालप्रसाद पाण्डेका अनुसार पछिल्ला ४ वर्षमा धेरै कैदीबन्दीले सीप सिक्ने अवसर पाएका छन्। ‘कैदीबन्दीलाई प्रोत्साहन दिएर जीवन बदल्न सिकाउनुपर्छ भनेर सिकाउन थालिएको हो,’ उनले भने, ‘अहिले राम्रै देखिएको छ।’ उनका अनुसार कारागारमा तयार भएका कुनै पनि सामानलाई अहिले बजार अभाव छैन। ‘उत्पादन भएका कुनै सामाग्रीले बजार पाएन भन्ने गुनासो छैन,’ उनले भने, ‘खोज्दै कारागारमै आउने थुप्रै छन्।’ अन्य उत्पादनको तुलनामा मुडा र तरकारीका बिरुवाको बढी खोजी हुने गरेको छ। कारागारभित्र उद्योगका रूपमा प्रयोग हुने गरेका सबै सामग्री कैदीबन्दी आफ्नै लगानीका हुन्।
कारागारमा अहिले ७ महिलासहित ६६ कैदीबन्दी छन्। कारागारका चौकीदार दीपक चन्दका अनुसार कैदीबन्दीले वार्षिक २७ लाख रुपैयाँसम्मको कारोबार गर्छन्। ‘जानअन्जानमा भएका गल्ती बिर्साउँदै नयाँ सिर्जना गरी बस्ने अवसर बनेको छ,’ उनले भने, ‘सीप सिकेपछि पुरानो कुरा सम्झेर एकान्तमा बसेर टोलाउनुपर्ने, चिन्ता लिनुपर्ने वातावरण कारागारमा छैन।’

Comments

comments

Comments are closed.