आउँदो दसैँदेखि रेसुंगा विमानस्थलबाट परीक्षण उडान

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी । १० वर्षअघिदेखि औपचारिक काम थालिएको जिल्लाको रेसुंगा विमानस्थलमा आउँदो दसैँदेखि परीक्षण उडान गरिने भएको छ । औपचारिक रूपमा ०६३ देखि विमानस्थल निर्माण सुरु गरिए पनि सम्भाव्यता अध्ययनबाहेक अन्य काम भएका थिएनन् । पछिल्लो समय विमानस्थल निर्माणले गति लिएपछि दसैँसम्म धुले उडान गर्न सकिने रेसुंगा विमानस्थल निर्माण समितिले जनाएको छ ।

असारमै काम सकिने ठेकेदारको भनाइ
विमानस्थल निर्माणका लागि यो वर्ष जिम्मा पाएको सुनील समीर निर्माण सेवाका प्रमुख नारायण पोख्रेलले आउने असारसम्म काम सक्ने गरी निर्माण भइरहेको जानकारी दिए । सम्झौता मंसिरसम्मको भए पनि बीचमा कुनै अवरोध नआए बर्खाअगाडि नै काम सकिने उनले बताए ।
४६ घरपरिवारलाई मुआब्जा
६ सय १० मिटर धावन मार्ग र ३० मिटर चौडाइको विमानस्थल निर्माणका लागि सिमीचौर थालेमालेका केही घरपरिवारलाई अन्यत्रै सारिएको छ । ७८ रोपनी १० आना क्षेत्रफलमध्ये ५६ रोपनी सार्वजनिक जग्गा हो । त्यसमध्ये २२ रोपनी १० आना जग्गामा भएका ४६ घरधुरीलाई मुआब्जा दिएर अन्यत्र सारिएको विमानस्थल निर्माण समिति अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । केही समय मुआब्जा विषयमा विवाद भएपछि निर्माण रोकिएको थियो । तर, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको मुआब्जा समितिले सम्पत्तिको मूल्यांकनका आधारमा मुआब्जा वितरण गरेपछि विवाद सल्टिएको थियो ।

reshunga-airport

गुल्मीको सिमीचौरमा निर्माण भइरहेको रेसुंगा विमानस्थल ।


टावर मर्मत र भवन निर्माण महत्वपूर्ण
यो वर्ष जाली उठाउने र सम्याउने काम मात्र भएको उनको भनाइ छ । ‘सम्झौता सकिएपछि पनि थुपै्र काम बाँकी रहन्छन्,’ पोख्रेलले भने, ‘काम सकिएसँगै धुले उडान गर्न सकिन्छ ।’ नियमित उडान गर्न टावर मर्मत र भवन निर्माण समयमै हुनुपर्नेमा उनले जोड दिए । अहिले ग्याबिन र वास आउटिङको काम बाँकी रहेको उनले बताए । समयमै बजेट विनियोजन भए बाँकी काम सकेर विमानस्थलबाट नियमित उडान गर्न सकिने उनले जानकारी दिए ।
मुआब्जा रकम ५ देखि १७ लाखसम्म
अहिलेसम्म ५ हजारदेखि १७ लाखसम्म मुआब्जा वितरण गरिएको समितिका अध्यक्ष पन्तको भनाइ छ । ४६ घरपरिवारलाई अहिलेसम्म करिब ८५ लाख मुअब्जा वितरण भइसकेको उनले बताए ।
तत्काल उडानमा अझै आशंका
विमानस्थल निर्माण सुरु भएको लामो समय भएकाले पनि स्थानीय तत्काल उडान हुनेमा भने विश्वस्त छैनन् । ‘कामको प्रकृति हेर्दा विमानस्थल समयमै बन्लाजस्तो लाग्दैन,’ रेसुंगा नगरपालिकाका लक्ष्मण अर्यालले भने, ‘समयमै काम गरिएको भए तीन वर्षअघि विमान उडिसक्थ्यो ।’ विमानस्थल निर्माणमा स्थानीयको मात्र नभई समग्र जिल्लाको भाग्य र भविष्य जोडिएकाले जतिसक्दो छिटो काम सक्नुपर्नेमा उनले जोड दिए ।
गाउँमै जहाज बस्ने भएपछि ५० हजार रुपैयाँ मुआब्जा लिएर जग्गा छाडेकी सिमीचौरकी रवि मगर चाँडै विमानस्थल बन्नेमा भने शंका व्यक्त गर्छिन् । ‘गाउँमा जहाज बस्लाजस्तो लागेको छैन, धेरै भइसक्यो । नेताहरू कुरा एउटा र काम अर्कै गर्छन् । बाँच्ने वेलासम्म देख्न पाए हुन्थ्यो,’ उनले भनिन् ।
हालसम्मको खर्च करिब ११ करोड खर्च
रेसुंगा विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब ११ करोड रुपैयाँ खर्च भएको विमानस्थल निर्माण समितिका संस्थापक अध्यक्ष जयप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार यो वर्ष ४ करोड ३४ लाख, गत वर्ष ३ करोड १ लाख र अघिल्ला वर्षमा गरी यस्तो रकम पर्यटन मन्त्रालयबाट प्राप्त भएको हो ।
५० प्रतिशत निर्माण सकिएपछि अर्को टेन्डर
त्यस्तै, विमानस्थलको टावर र भवन निर्माणका लागि २ करोड स्वीकृत भइसकेको अर्यालले बताए । अहिलेको सम्झौताको ५० प्रतिशत काम सकिएपछि अर्को टेन्डर आह्वान गरिने उनको भनाइ छ । ठेकेदारबाट सम्झौताअनुसारको काम नभएको स्थानीयको गुनासोपछि ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

अहिलेसम्म चार अध्यक्ष
विगत वर्षदेखि नै विमानस्थल निर्माण हुनुपर्ने बताउँदै आएका जिल्लावासीको माग सम्बोधन गर्न राजधानी काठमाडौं र जिल्लामा पटक–पटक छलफल र बहस हुँदै आएको छ । अहिले निर्माण भइरहेको सिमीचौरको थालेमालेसहित सदमुकाम तम्घासनजिकको उनायचौरको पनि अध्ययन भएको थियो । तर, सिमीचौरकै हालकै स्थानमा विमानस्थल बन्ने निर्णय भएसँगै विभिन्न समिति निर्माण भइसकेका छन् ।
विमानस्थल निर्माणका क्रममा सिमीचौरकै जयप्रसाद अर्यालले सुरुमा निर्माण समितिको जिम्मा पाएका थिए । त्यसपछि सोही स्थानका पदम अर्याल, टेकबहादुर अधिकारीले पनि केही समय अध्यक्ष पदमा रहेर काम गरेका थिए ।
पछि समितिको अध्यक्षमा जयप्रसाद अर्याल हुँदै विमानस्थल निर्माण समितिको जिम्मा मधुकृष्ण पन्तले पाएका छन् । तत्कालीन पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रदीप ज्ञवालीले औपचारिक रूपमा विमानस्थलको काम अगाडि बढाएका थिए ।

Comments

comments

Comments are closed.